कांग्रेस जिल्ला सभापतिको भेलामा बन्दशत्र आजपनि जारी रहने

कांग्रेस जिल्ला सभापतिको भेलामा बन्दशत्र आजपनि जारी रहने

२०८ पटक पढिएको

तीन दिनदेखि जारी कांग्रेस जिल्ला सभापतिको भेला आज पनि हेटौडामा जारी छ । भेलाको तेस्रो दिन बैठक सम्पन्न गर्ने तयारी गरिएपनि जिल्ला सभापतिले बोल्ने क्रम नसकिएपछि बैठक लम्बिने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेलाको बन्दशत्र आजपनि जारी रहने क्यापिटल समाचारलाई जानकारी दिनुभएको छ । 
पार्टीको विधान संशोधन, महाधिवेशन, निर्वाचनको पराजयका बिषयमा छलफल गर्न डाकिएको जिल्ला सभापतिको भेलामा संस्थापन पक्ष र संस्थापनइत्तर पक्ष विभाजित भएका छन् । 
कांग्रेस जिल्ला सभापतिको भेलामा चुनावी हारलाई लिएर नेतृत्वको चर्को आलोचना भएको छ । भेलामा अधिकांश जिल्ला सभापतिले निर्वाचनमा पराजयको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताउदै नेतृत्वको आलोचना गरेका छन् । पाँच गतेबाट जारी भेलामा अझै आगामी कार्यदिशाबारे नयाँ प्रस्ताव आउन सकेको छैन् । 
वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्ण सिटौला समूहको बहुमत रहेको जिल्ला सभापतिको भेलामा धेरैले सभापति देउवाको आलोचना गरेका छन् । पार्टी नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, महाअभियोग, आईजीपी, राजदूत नियुक्ति प्रकरणमा नेतृत्व चुकेको उनीहरुको आरोप छ । 
धेरैको गुनासो जिल्लाको चुनाव हारेकालाई समेत सिफारिस समितिमा राखेर आफूको अधिकार कटौती गरेकोमा समेत रहेको थियो । देउवा निकटवर्तीहरुले भने संसदीय समितिबाटै टिकट बाँडिएको भन्दै हारको जिम्मेवारी सबैले लिनुपर्ने बताएका छन् ।