चलचित्र ‘ह्याप्पी डेज’को नयाँ गीत सार्वजनिक भएको छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ताको अभिनय रहेको ‘तिमी बिना’बोलको सार्वजनिक गरिएको हो । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी चलचित्रको गीतहरू र टिजर देखाइएको थियो । सार्वजनिक गीतमा तारा प्रकाश लिम्बु र दिपा लामाको स्वर रहेको छ । गीतमा गायक लिम्बुकै सङ्गीत रहेको छ भने दिनेश राउतको शब्द रहेको छ  । मिलन चाम्सको निर्देशन रहेको चलचित्र ह्याप्पी डेजको सार्वजनिक गीतलाई निर्देशक चाम्सले नै कोरियोग्राफी गरेका छन् । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आइको प्रस्तुति रहेको चलचित्र ह्याप्पी डेजमा बीपी खनाल, भवानी शर्मा, हिराल जोशी , डा. अशोक वंशल र स्वयम निर्देशक मिलन चाम्सको लगानी रहेको छ । पैसा कमाउन बेलायत पुगेका एक नेपाली युवकले वैधानिक बसोबासका लागी गरेको संर्घषले चलचित्र ह्याप्पी डेजमा देखाउन खोजेको निर्माण पक्षले जनाएको छ । 

 

चलचित्रमा प्रियंका कार्की र सञ्जय गुप्ताको साथमा दयाहाङ राई, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स, जेन बकल लगायतका कलाकारको अभिनय रहेको छ । करिब २ करोड ५० लाख रुपैयाँको बजेट रहेको चलचित्र माघ १२ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्रमा रामकुमार केसीको छायाङ्कन रहेको छ भने ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको सङ्गीत रहेको छ ।