राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी वैशाख १३ देखि

राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी वैशाख १३ देखि

६६ पटक पढिएको

काठमाडौँ, २८ चैत । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा सोह्र वर्षमुनिको मनमोहन मेमोरियल अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । 

आगामी वैशाख १३ देखि १९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष ठाकुर गैरेले जानकरी दिनुभयो । 

प्रतियोगितामा सात प्रदेशका सात टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेता टोलीले क्रिकेट किट्ससहित रु पाँच लाख बराबरको पुरस्कार तथा उपविजेताले दुई लाख ५० हजार बराबरको पुरस्कार हात पार्नेछ । 

यसैगरी, यसै वर्षभरी क्रिकेट खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये एक पुरुष, एक महिला खेलाडी र एक प्रशिक्षकलाई नगदसहित मनमोहन राष्ट्रिय क्रिकेट सम्मान २०७४ बाट सम्मान गरिने सेन्टरका अध्यक्ष गैरेले जानकारी दिनुभयो ।