महेश बस्नेत नेकपाको केन्द्रीय सदस्य मनोनित

महेश बस्नेत नेकपाको केन्द्रीय सदस्य मनोनित

६२४८ पटक पढिएको

काठमाण्डौ । नेकपा एमालेका चर्चित युवा नेता महेश बस्नेत नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य मनोनित हुनुभएको छ । नेपालको राजनीतिमा प्रभावशाली युवा नेता बस्नेत तत्कालीन नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको पूर्व अध्यक्ष हुनुहुन्थ्यो । २०३१ साल माघ ३ गते भक्तपुरको (साविक गुण्डु गाविस ४) हालको सूर्यविनायक नगरपालिका वडा नंं ७ मा जन्मनुभएका बस्तेतले कानूनमा स्नातक गर्नुभएको छ ।
बस्नेत २०४९ सालमा तत्कालीन नेकपा एमालेको साधारण सदस्य हुनुभएको थियो । २०५५ सालमा युवा संघ नेपालको जिल्ला अध्यक्ष र तत्कालीन नेकपा एमाले जिल्ला सदस्य हुनुभयो । २०५६ सालमा युवा संघ नेपालको केन्द्रीय सदस्य, २०६३ मा केन्द्रीय कोषाध्यक्ष हुँदै उहाँ २०६५ सालमा युथ फोर्सको प्रमुख हुनुभयो । बस्नेत २०६६ सालमा दोश्रो पटक युवा संघको अध्यक्ष हुनुभयो । 
२०५० सालमा गुण्डु गाविस वडा नम्वर ४ को वडा अध्यक्ष हुनुभएका बस्नेत ०५४ सालमा २३ वर्षकै उमेरमा गाविस अध्यक्ष भएर काम गर्नुभयो । देशकै कम उमेरको गाविस अध्यक्ष हुँदा विकासमुखी र जनमुखी कार्यलाई सफलतापूर्वक सम्पन्न गर्नुभएका कारण उहाँको चर्चा जिल्लाभरिनै भएको थियो । 
२०७१ भाद्र २७  गते नेपाल सरकारका उद्योगमन्त्री नियुक्त हुनुभएका बस्नेतले उद्योगमन्त्रालयमा १३ महिना आफ्नो जिम्मेवारी सम्हाल्नुभयो । उद्योगमन्त्री भएकै बेला २०७२ सालको भूकम्प प्रभावित भक्तपुरबासीहरुका निम्ति विशेष कार्यक्रमसहित जनताको घरदैलोमा पुगेर प्रत्यक्ष रुपमा मावनीय कार्यमा जुट्नुभयो । 
भक्तपुरको समग्र विकासमा समेत सक्रिय बस्नेतको प्रत्यक्ष सहभागितामा विकास निर्माण हरेक गतिविधिहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँ २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार पूर्व सभामुख दमननाथ ढुङ्गानालाई दोब्बर मत अन्तरले पराजित गर्दै निर्वाचित हुनुभयो । हाल उहाँ समग्र मुलुक तथा भक्तपुरको विकास र समृद्धिका निम्ति विशेष रुपमा सक्रिय रहँदै आउनुभएको छ ।