छोरी दाहसंस्कार गर्न प्रतिज्ञा पूरा भयो, पैसाले रोक्यो

छोरी दाहसंस्कार गर्न प्रतिज्ञा पूरा भयो, पैसाले रोक्यो

१४२ पटक पढिएको

आज म छोरी लिन जाने हो बैनी,' सन्तोषी नेपालीले फोनमा भनिन्।

हिजो सोमबार, उनको एक वर्ष लामो प्रतिज्ञा पूरा भयो।

सन्तोषीकी १३ वर्षीया छोरीको बलात्कार गरी हत्या गर्ने विश्वराम रनपैलीलाई जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको फैसला सुनायो।

मोरङ, बाहुनीका रनपैलीले २०७४ जेठ ५ गते स्वयम्भू बस्ने अमृताको बलात्कार गरी हत्या गरेका थिए। बलात्कार र हत्यामा संलग्नलाई सजाय दिलाउन उनी एक वर्षदेखि कानुनी लडाइँ लडिरहेकी थिइन्। दोषीमाथि कारबाही नभएसम्म छोरीको शव नबुझ्ने र दाहसंस्कार नगर्ने उनको प्रतिज्ञा थियो। 

पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगन्ज लगिएको अमृताको शव त्यहीँ छ। मंगलबार दिउँसो हामी डेरामा पुग्दा सन्तोषी अस्पताल जान ठिक्क परेकी थिइन्। शव फिर्ता लिन के-के गर्नुपर्छ भनेर कसैलाई सोध्न पठाएकी रहिछन्। उनी त्यही खबर कुर्दै थिइन्।

'न्यायाधीशले हिजो फैसला सुनाउँदै तपाईंको माग पूरा भएको छ भन्नुभयो, ५० हजार क्षतिपूर्ति पनि दिलानुभयो,' सन्तोषीले भनिन्, 'त्यसलाई (रनपैली) हत्यामा जन्मकैद र बलात्कारमा १० वर्ष सजाय भएको सुनेपछि बल्ल छोरीको आत्माले शान्ति पायो भन्ने लाग्यो।'

सन्तोषी स्वयम्भू क्षेत्रको एउटा गल्लीमा दुई छोरा र एक छोरीसँग बस्थिन्। चार वर्षअघि श्रीमानले दोस्रो बिहे गरेपछि उनी ललितपुरको लेलेबाट यहाँ सरेकी थिइन्।

त्यस दिन बिहान काममा निस्कनुअघि सधैंझैं छोरीको कपाल कोरिदिन थालिन्। अमृता भने स्कुल नजाने भनेर दुई चुल्ठी बाट्नै मानिनन्।

'उसो भए भाइलाई बोर्डिङबाट छिट्टै ल्याएस्,' उनी यसै भन्दै काममा निस्किइन्।

साँझ कान्छा छोरा हस्याङफस्याङ गर्दै आमालाई लिन गए।

'दिदी त बोल्दै बोल्दिन,' कान्छा छोराको मुखबाट यस्तो सुनेपछि उनको आँतै सुक्यो
हतारहतार डेरा पुग्दा छोरी घोप्टो परेकी थिइन्। बिहान लरक्क परेको कपाल खजमजिएको थियो। झ्यालमा झुण्डिएको देखेपछि आफैंले दिदीको पासो काटिदिएको कान्छो छोराले बताए।

अस्पताल लैजाने कुरा भयो। ट्याक्सी बोलाइन्। त्यतिञ्जेल वरिपरिका मान्छे जम्मा भैसकेका थिए। कसैले छोरी उठाउन सहयोग गरेनन्। के भयो भनेर पनि सोधेनन्। बहिनी र चिनेजानेका दाजु आएपछि बल्ल अस्पताल लगिन्।

वीर अस्पताल पुर्‍याउँदासम्म अमृताको प्राण गैसकेको थियो।

वीरमा एक जनाले सोधे, 'प्रहरीलाई रिपोर्ट गर्नुभयो?'

'गरेको छैन,' सन्तोषीले जवाफ दिइन्, 'चुनावको दिन विश्वराम रनपैलीले एक हप्तामा तेरो छोराछोरी ठेगान लगाइदिन्छु भनेको थियो।'

सायद यही आधारमा तिनै व्यक्तिले प्रहरीलाई खबर गरिदिए।

अमृताको शव पोस्टमार्टमका लागि टिचिङ लगियो। यता विश्वराम पक्राउ परे। सार्वजनिक झैझगडा गरेको भनी केही दिन थुनामा रहेर छुटे। पछि अदालतले नै उनलाई पुर्पक्षका लागि थुनामा पठायो।

'एक हप्तापछि जब पोस्टमार्टम रिपोर्ट आयो, म छाँगाबाट खसेजस्तै भएँ,' उनले भनिन्।

झुन्डिएका कारण ज्यान गएको भए पनि छोरीको 'कन्याजाली' च्यातिएको रिपोर्टमा उल्लेख थियो।

११ वर्षे छोरीको कन्याजाली कसरी च्यातिन्छ?

मनमा प्रश्न नउठ्दै विश्वरामले धम्क्याएको उनलाई याद आयो।

'त्यसले मलाई नराम्रो व्यवहार गरेको थियो। छोरीलाई पनि कुदृष्टि लगाएको मलाई याद छ, मैले प्रतिकार गर्दा हप्ता दिनमा तेरा छोराछोरी ठेगान लगाउँछु भनेको थियो,' उनले सम्झिन्, 'एक हप्ता नपुग्दै छोरीको हत्या गर्‍यो।'

उनले विश्वरामविरुद्ध किटानी जाहेरीको निवेदन दिन खोजिन्। त्यसपछि सुरु भयो, प्रहरीले दिएको मानसिक तनाव।

'मैले डिएसपी कमल साहलाई जाहेरी बुझाएँ। उसले के हो यो भनेर सोध्यो। मैले किटानी जाहेरी भन्नेबित्तिकै निवेदन मेरै हातमा फ्यात्त फाल्यो र तपाईंको जाहेरी तपाईं नै राख्नुस म लिन्नँ भन्यो। किन भन्दा उत्तरै दिएन,' सन्तोषीले भनिन्।

मुद्दा फाँटका प्रहरीले एक स्वरमै भने, 'साइकल चलाउँदा पनि कन्याजाली च्यातिन्छ, तपाईंकी छोरी मरेको बलात्कारले हैन, झुन्डिएर हो।'

प्रहरीले किटानी जाहेरी दर्ता गर्नै मानेनन्।

'मुद्दा फाँटमा विष्णु खतिवडा भन्ने प्रहरी थियो, उसले त फाइलै नहेरी जे पायो त्यही भन्न थाल्यो। मैले थर्काएँ, पढेर बोल्ने गर्नुस् भनेँ,' उनले भनिन्, 'अर्को एक जना पुलिसले मेरो छोरी नै उस्तो भन्दै हप्कायो।'
प्रहरीले जाहेरी लिन नमानेपछि छोरीका शिक्षक र साथीहरुले साथ दिए। स्कुलका अरु केटाकेटी बोलाएर ल्याए। हजारभन्दा बढी विद्यार्थीले चौकी घेरेपछि घटनाको २५ औँ दिनमा बल्ल किटानी जाहेरी दर्ता भयो।

त्यतिबेला कमल साह भन्ने डिएसपी सरुवा भइसकेका थिए।

'पुलिसले नै मलाई अन्याय र असहयोग गरेको थियो। त्यही भएर छोरीले न्याय नपाएसम्म शव दाहसंस्कार नगर्ने प्रतिज्ञा गरेँ,' सन्तोषीले भनिन्, 'मेरी छोरीको शव नै सबभन्दा ठूलो प्रमाण हुन्छ भन्ने लाग्यो।'

यसबीच उनलाई शव बुझ्न प्रहरीबाट दबाब आयो। परिवारले पनि दबाब दियो। उनले कसैको सुनिनन्। बरु छोरीको शव बुझ्नेलाई जेल पुर्‍याउने धम्की दिइन्।

जिल्ला अदालतको आदेशपछि छोरीको दाहसंस्कार गर्ने समय आएको उनी बताउँछिन्। मंगलबारै शव बुझ्ने तयारीमा थिइन्। पाइनन्।

अस्पतालमा सोधपुछ गर्न गएकाले खबर ल्यायो- शव बुझ्न ४ लाख तिर्नुपर्छ।

'पोहोर त दिनको ५ सय लाग्छ भन्थे, अहिले १५ सय भन्दैछन् रे,' सन्तोषीले चिन्तित हुँदै भनिन्, 'मसँग एक पैसा छैन, अब कसरी जुटाउने हो? छोरीलाई कहिले लिन जाने हो?'

एकछिनअिघ फोनमा 'छोरी लिन जाने' भन्दा सन्तोषी जति उत्साही सुनिएकी थिइन्, चार लाख तिर्नुपर्ने खबर पाएपछि उनी खिन्न भइन्।

'मेरी छोरीले अझै केही दिन अस्पतालको चिसोमै बस्नुपर्ने भयो। आजसम्म त लडेँ, अब पनि केही उपाय त लाग्ला नि!' उनले भनिन्।

यो एक वर्षमा उनी कहिल्यै मृत छोरीको अनुहार हेर्न गइनन्। धोको नभएको हैन, आफन्तले रोके। आज कसैले रोक्दैनथ्यो, पैसाले रोक्यो।

छोरी सँगै हुँदा सन्तोषीको जिन्दगी सजिलो गरी बितेको थियो। अमृता भान्छाको काम गर्थिन्। भाइ पनि हेर्थिन्। आफ्नी आमालाई हेला गर्ने बाबुलाई दुई-चार कुरा सुनाइ पनि दिन्थिन्।

'एकदिन उसको बाउ यहाँ आएको थियो। त्यो बेला छोरीले 'सानैदेखि हामीलाई आमाले पाल्नुभयो, अब तपाईं हामीलाई चाहिन्न' भनिदिई,' उनले सम्झिइन्, 'त्यति सानीले पनि मेरो सुखदु:ख बुझ्थी।'

जब छोरीको हत्या भयो, उनको पेटमा हत्यारालाई सजाय दिलाउने आगो बल्यो। अदालती बहसमा विपक्षी वकिलले 'छोरी मारेको आमाले नै हो' भन्ने आरोप लगाएको सुन्दा उनले मन थाम्न सकिनन्।

'उसका वकिलले त मैले नै मारेकोसम्म भने। मन कटक्क भयो, इजलासमै बस्न सकिनँ,' सन्तोषीका आँखा भरिए, 'अदालत परिसरमा भेट्दा पनि 'यहाँबाट निस्के तँलाई मार्छु' भन्दै धम्की दिएको थियो।'

उनलाई छोरीको शव झिक्ने पैसाको मात्र चिन्ता छैन। यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्दा विश्वरामले सफाइ पाउने त हैन भन्ने डर पनि छ।

उनले साहस बटुलेर राखेकी छन्।

'न्यायको लागि जति समय लड्नुपर्छ, म लड्छु,' सन्तोषीले भनिन्।