कांग्रेस जिल्ला सभापतिको भेलामा आजबाट बन्दसत्र शूरु

कांग्रेस जिल्ला सभापतिको भेलामा आजबाट बन्दसत्र शूरु

२५६ पटक पढिएको


हेटौंडामा जारी कांग्रेस जिल्ला सभापतिको भेलामा आजबाट बन्दसत्र शूरु हुँदैछ । हिजो सुरु जिल्ला सभापतिको भेलाको अहिले साढे ९ बजेदेखि बन्दसत्र शूरु हुने कांगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
हिजो भएको उद्घाटन सत्रमा संघीय ढाँचाअनुसार पार्टी संरचना रूपान्तरण गर्न स्थानीय र प्रदेश अधिवेशन तत्काल गर्नुपर्ने माग उठेको छ । जिल्ला सभापतिले १४ औं महाधिवेशन नभएसम्म अहिलेकै महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिबाट अधिवेशन गराउनुपर्ने माग राखेका छन् । तर संस्थापन पक्षले सो मागमा रुची देखाएको छैन । 
अधिवेशनमा जाँदा आफ्नो प्रतिकूल नेतृत्व आउन सक्ने भन्दै सभापति शेरबहादुर देउवाले विकल्पमा तदर्थ समिति गठन गर्ने तयारी गर्नुभएको छ । संस्थापन पक्षीय नेताहरूले दुई वर्षका लागि अधिवेशनतिर भन्दा नेताबीचको सहमतिमा तदर्थ समिति बनाउनुपर्ने माग उठाएका छन् । 
संस्थापनइतर पक्षले भने देउवालाई जसरी पनि प्रदेश र स्थानीय तहको अधिवेशन गराउनुपर्नेमा जोड दिएका छन् । केन्द्रीय नेताबीचको यो मतान्तर जिल्ला सभापति भेलाको बन्दसत्रमा पनि प्रकट हुने भएको छ । भेला भोलि सकिनेछ ।