३० जना महिलामा एचआईभी सार्ने पुरुषलाई २४ वर्षको जेल सजाय

३० जना महिलामा एचआईभी सार्ने पुरुषलाई २४ वर्षको जेल सजाय

३० पटक पढिएको

इटलीका एक व्यक्तिलाई ३० जना महिलामा एचआइभी संक्रमण फैलाएको आरोपमा २४ वर्षको जेल सजाय सुनाइएको छ । ३३ वर्षका भालेन्टिनो तालुतोलाई आफू एचआइभी संक्रमित रहेको थाहा हुँदाहुँदै ५३ जना महिलासँग असुरक्षित यौनसम्पर्क गरेको र त्यसमध्ये ३० जनालाई एचआइभी संक्रमित बनाएको आरोपमा त्यहाँको अदालतले जेल सजाय सुनाइएको हो ।

एकाउन्टेन्ट रहेका तालुतो सन् २००६ देखि एचआइभी संक्रमित भएका हुन् । त्यसयता उनले ५३ जना महिलासँग यौन सम्बन्ध कायम गरेका थिए । यसमध्ये एक महिलाको उमेर तालुतोले यौन सम्बन्ध सुरु गर्दा १४ वर्षको थियो ।

तालुतोले यौन सम्बन्धका बेला कण्डम प्रयोग गर्न भन्दा आफूलाई कण्डमको एलर्जी भएको वा केही समयअघि मात्रै एचआइभी परीक्षण गरेको बताउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही महिलाले आफूमा एचआइभी संक्रमण भएको थाहा पाएपछि तालुतोसँग सोध्दा उनले आफू एचआइभी संक्रमित रहेको कुरा अस्वीकार गर्ने गरेका थिए । तालुतो यौन सम्बन्धका लागि महिलाको खोजीका लागि सामाजिक सञ्जाल तथा डेटिङ साइटमा ‘हार्टी स्टाइल’ नाम प्रयोग गर्ने गरेका थिए ।(एजेन्सी)