अनसनरत गंगामायालाई भेटेपछि पौडेलले के भने ?

अनसनरत गंगामायालाई भेटेपछि पौडेलले के भने ?

३७७ पटक पढिएको

काठमाण्डौ, असार १९ । नेपाली कांग्रेसले अनसनरत गंगामाया अधिकारीप्रति सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको प्रतिक्रिया दिएको छ । सर्वोच्च अदालतको फैसलाअनुसार छोराका हत्यारालाई कारवाही हुनुपर्ने माग गर्दै आमरण अनशनमा बस्नुभएकी गोरखा फुजेलकी अधिकारीप्रति सरकार गम्भिर नभएको भन्दै काग्रेसले आपत्ती जनाएको छ । 

गत मंगलबारबाट अनशनरत गंगामायाको स्वास्थ्य अवस्था बुझ्न आज वीर अस्पताल पुग्नुभएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अपराधीले माओवादीसँग टाँसिएर आफ्नो अपराध माफ पाउने अवस्थाले समाजमा मानवियता गुमाउँदै गएको टिप्पणी गर्नु भयो ।

छोराको हत्यारालाई कारवाहीका लागि अनसन बस्नुपर्ने अवस्था आउनु विडम्बना रहेको भन्दै उहाँले गंगामायाको मागलाई अब सरकारले नसुने जनस्तरमा लैजानुपर्ने बताउनुभयो । 

नेता पौडेलसँग उपचारमा संलग्न स्वाथ्यकर्मीले गंगामायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी दिएका छन् । 

छोराका हत्यारालाई कारवाहीको माग राखेर अनशनमा बसेका उनका श्रीमान् नन्दप्रसाद अधिकारीको तीन सय ३४ औं दिनमा २०७१ असोज ६ गते निधन भएको थियो । 

गंगामायाको मागलाई अब जनस्तरमा लैजानुपर्छ