अभ्यास खेलमा नेपालको फराकिलो जित

अभ्यास खेलमा नेपालको फराकिलो जित

१८५ पटक पढिएको

काठमाण्डौ । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय सिरिजको लागि युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले चौथो अभ्यास खेलमा फराकिलो जित निकालेको छ । हिजो भएको टी–ट्वान्टी खेलमा नेपालले इष्ट लन्डन शार्कलाई १३४ रनले हराएको हो ।

लग्घटन क्रिकेट क्लबको मैदानमा नेपालले दिएको २५२ रनको फराकिलो लक्ष्य पछ्याएको इष्ट लन्डन शार्कले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ११७ रन बनाउन सक्यो । शार्कका लागि ताकी अब्बासले ३२ तथा हाफिज यावरले २६ रन जोडे । यस्तै अर्शाद हारुनले अविजित १६ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ तथा ललित नारायण राजवंशीले २ विकेट लिए । यस्तै करण केसी, दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभरमा मात्र ४ विकेट गुमाएर २५१ रनको उच्च योगफल तयार गरेको थियो । नेपालको उच्च योगफलमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । नेपालको लागि ओपनर ज्ञानेन्द्रले सर्वाधिक ७५  रन बनाए । ४७ बल खेलेका ज्ञानेन्द्रले ६ छक्का र ५ चौका प्रहार गरे ।  यस्तै कप्तान पारस र दीपेन्द्रले समान ६७ र ६७ रन जोडे । नेपालका रोहित कुमार पौडेल १२ रनमा अविजित रहे । शार्कका सलिम अकबरले २ विकेट लिए ।

योसंगै नेपालले चार अभ्यास खेलमा तीन जित हासिल गरेको छ । नेपालले आइतबार क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।