नागरिक अगुवा पद्मरत्न तुलाधरको निधन

नागरिक अगुवा पद्मरत्न तुलाधरको निधन

१०१ पटक पढिएको

काठमाण्डौ । वरिष्ठ मानवअधिकारकर्मी एवं नागरिक अगुवा पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको छ । काठमाण्डौ स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा तुलाधरको निधन भएको मानवअधिकारकर्मी गौरी प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार अस्पतालमा पौने १ बजे निधन भएको खबर चिकित्सकहरुले परिवारलाई जानकारी दिएको थियो ।

पूर्वराजनीतिज्ञसमेत रहेका तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगसँग जुधिरहनु भएको थियो । बिरामी भएपछि उहाँलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा सारिएको थियो । तुलाधार पछिल्लो पटक २०५१ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा विजयी हुनुभएको थियो ।

तुलाधार नेपाली राजनैतिक सामाजिक आन्दोलनका अगुवा तथा नेपाल भाषाका प्रबद्र्धक समेत हुनुहुन्थ्यो । उहाँ २०६२/६३ को शान्ति प्रक्रियाका एकजना सहजकर्ता पनि हुनुहुन्थ्यो । उहाँको उपचारका क्रममा सरकारले बेवास्ता गरेको गुनासो परिवारले गर्दै आएको थियो ।

२०४६ सालमा काँग्रेस र तत्कालीन वाममोर्चालाई एक ठाउँमा ल्याउन उहाँको महत्वपूर्ण भूमिका थियो । नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापना गर्ने अभियानमा लामो समय खर्चिएका तुलाधर २०४२ मा नेकपा (माले)को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएपछि विशेष चर्चामा आउनुभएको थियो ।

नेकपा एमालेको समर्थनमा २०४८ र २०५१ मा काठमाडौंबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री हुनुभएको थियो ।  उहाँ मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा समेत क्रियाशील हुनुहुन्थ्यो ।

यसैबीच तुलाधारको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्नुभएको छ । उहाँले नेपालको बामपन्थी आन्दोलनमा तुलाधरले पु¥याउनु भएको योगदान सदा स्मरणीय रहेको बताउनुभएको छ ।