पहिलो चरणको निर्वाचन सम्पन्न, ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगको भनाई

पहिलो चरणको निर्वाचन सम्पन्न, ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगको भनाई

६१ पटक पढिएको

निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान समग्रमा शान्तिपूर्ण रहेको बताएको छ । निर्वाचन आयोगमा आयोजित बिशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । निर्वाचन आयोगले ६५ प्रतिशत भन्दा बढी मत खसेको अनुमान गरेको छ ।  प्राविधिक विषय भएकाले खसेको मतको यकिन तथ्यांक आउन समय लाग्ने प्रमुख आयुक्त यादवले बताउनुभयो । मतदान सम्पन्न भएका उच्च पहाडी र हिमाली ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको आयुक्त यादवले जानकारी दिनुभएको छ । प्राकृतिक कारणले स्थानीय तहको भन्दा कम मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगले मतपत्रले भरिएका अधिकांश स्थानका मतपेटिका हिजोबाट नै जिल्ला सदरमुकाम ल्याउन सुरु गरिएको आयोगले जनाएको छ । हिजो मतदान भएका हिमाली र उच्च पहाडी जिल्लास्थित विकट क्षेत्रको मतदान केन्द्रका मतपेटिका आजसम्म संकलन गरिने भएको हो । हिजो ढुवानी गर्न नसकिएका कतिपय दुर्गम केन्द्रमा मतपेटिका संकलन गर्न हेलिकप्टर नै पठाइने निर्वाचन आयोगले जनाएको छ  । नजिकैका मतदान केन्द्रबाट मतपेटिका हिजै जिल्ला सदरमुकामसम्म ल्याइसकिए पनि टाढाका केन्द्रका मतपेटिका भने ल्याउन बाँकी थियो । मतपेटिका प्रमुख निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष निगरानी र दलका प्रतिनिधिसमेतको उपस्थितिमा राखिने आयोगले प्रष्ट गरेको छ । मतपेटिकामा निर्वाचन आयोगको सिलबन्दी रहनेछ । केही जिल्लामा मतपत्रको सुरक्षाका लागि सिसिटिभीसमेत राख्ने व्यवस्था गरिएको छ ।

हिजो पहिलो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा स्थानीय तहमा खसेको भन्दा कम मत खसेको छ । स्थानीय तहको चुनावमा झण्डै ७५ प्रतिशत मत खसेपनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पहिलो चरणमा ६५ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगले जनाएको छ । यो स्थानीय तहको भन्दा झण्डै दश प्रतिशत कम मत हो । पहिलो चरणमा भएको मतदानको मतगणना पनि दोस्रो चरणको मतदान सकिएलगतै हुने भएको छ । त्यसबेलासम्म मतपेटिकालाई सुरक्षा दिएर राखिने भएको छ । मतपेटिकाको सुरक्षाका लागि लाहाछाप र ताला लगाएर सुरक्षित बनाइएको छ । निर्वाचन आयोगकाअनुसार राजनीतिक दलको रोहबरमा राखिने मतपेटिकामा दलले चाहे २४ सै घन्टा पहरा दिन सक्ने बताएको छ । सबै मतपेटिकालाई जिल्ला सदरमुकाममा ल्याएर राखिने  भएको छ ।