रामबाबु ज्ञानु कोषद्धारा चार लाखको पुरस्कार वितरण

रामबाबु ज्ञानु कोषद्धारा चार लाखको पुरस्कार वितरण

३० पटक पढिएको

सामाजिक क्षेत्रको संभवतः सवै भन्दा धेरै धनराशीको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार आज काठमाडौमा वितरण गरिएको छ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले आज चार लाख रुपैया बराबरको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषको तीन ओटा पुरस्कार प्रदान गर्नुभएको हो । 

महिला तथा वृद्ध सेवा केन्द्र, भीमदत्त न.पा., कञ्चनपुर तथा यसका संस्थापक शारदा देवी चन्दलाई दुई लाख रुपैया नगद सहितको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान गरिएको छ । 

सुदूरपश्चिममा रहेर विभिन्न कारणबाट हिंसापीडित हुन पुगेका महिला तथा घर परिवारबाट परित्यक्त वृद्ध तथा बालकहरूलाई सम्मानित जीवन बाँच्ने अवसर प्रदान गर्नु भएकाले उहाँलाई सम्मान गरिएको कोषका अध्यक्ष ध्रुब नेपालले जानकारी दिनुभयो । 
त्यसैगरी एक लाख रुपैया नगद सहितको रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार आफै पनि शारीरिक रुपमा असक्त भएर पनि असहाय वृद्धवृद्धा तथा मानसिक पक्षाघातका दृष्टिले असक्त बालबालिकालाई गाँस, बास र कपास प्रदान गरी सम्मानित जीवनको अवसर दिलाएकाले द्वन्द्व पीडित तथा अपाङ्ग समाज, सलम्बुटार, शङ्खरापुर नगरपालिका, काठमाडौंका संस्थापक युवराज थापालाई एक लाख नगद सहित प्रदान गरिएको छ । 

रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार एक लाख र सम्मानपत्र बेबी लाइफ होम, भत्केपाटी, कीर्तिपुरका संस्थापकद्वय राज कुमार पुन र उमा राई गुरुङ्गलाई प्रदान गरिएको छ । 
आफ्नो पेशा व्यवसाय समेत त्यागी एच.आई.भी. सङ्क्रमित बालबालिकाहरूलाई देशको विभिन्न क्षेत्रबाट ल्याई संरक्षकत्व प्रदान गर्दै आश्रय, पालनपोषण र शिक्षादीक्षाको अवसर प्रदान गरेकाले उहाँलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । 

स्वयं सेवाको भावनाले नेपालीहरुको हितमा उदाहरणीय योगदान गर्नु भएका व्यक्ति वा सामाजिक संस्थाको योगदानको सम्मान गर्ने उद्देश्य राखी रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषको स्थापना २०७० सालमा गरिएको थियो । संरक्षक रामबाबु नेपाल र ज्ञानु नेपालले बीस लाख रुपैयाको अक्षयकोष बनाई शुरु गर्नु भएको कोषमा हाल २९ लाख रुपैया रहेको छ । कोषमा रहेको रकममा आउने ब्याज तथा संरक्षकद्वयले उपलब्ध गराउने थप रकमबाट २०७१ देखि पुरस्कार प्रदान गरिंदै आएको छ ।

पुरस्कृत हुने व्यक्ति वा संस्थाको छनोट जात, जाति, भाषा, धर्म, वर्ण, लिङ्ग वा क्षेत्रको कुनै भेदभाव नराखी योगदानको आधारमा निष्पक्ष ढंगबाट गर्ने उद्देश्यअनुरुप कोषले भूपनाथ शर्माको संयोजकत्वमा विष्णुप्रसाद पन्त, सुवर्ण कुमार कर्माचार्य, गेहनाथ गौतम तथा चण्डेश्वर आचार्य रहेको ५ सदस्यीय समिति गठन गरेको थियो । 

छनोट समितिले पुरस्कार छनोट गर्न सामाजिक सेवामा लागेका संस्था र व्यक्तिहरुबारे विभिन्न श्रोतवाट सूचना संकलन गरेको थियो । मुलुकभरिबाट प्राप्त सूचनाको प्रारम्भिक विश्लेषण गरी त्यसमध्ये केहीको स्थलगत अवलोकन समेत गरिएको थियो । 

संस्थाको योगदान, कानूनी स्वीकृत, सुशासन र जवाफदेहिताका आधारमा सबल, दिगोपनका हिसाबले विश्वसनीय, व्यवस्थापकीय पक्षबाट चुस्त तथा सामाजिक दृष्टिकोणले प्रभावकारी र समष्टिगत रुपमा प्रतिभावान, उच्च समर्पण भाव र अनुभवले निखारिएकालाई पुरस्कृत हुने संस्था र व्यक्तिहरुको छनौट गर्ने गरिएको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।