१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानको गणना जारी

१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानको गणना जारी

७९९ पटक पढिएको

प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १ सय ६५ सिटमध्ये हालसम्म १ सय ६० सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा एमाले ७५, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् । त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा विजय हासिल गरेका छन् । अब स्याङजाको क्षेत्र नं. १ र २, कैलालीको क्षेत्र नं. २, सर्लाही–४ को नतिजा आउन बाँकी रहेको छ । यीमध्ये कैलाली २ मा मतगणना रोकिएको छ ।

निर्वाचन आयोगका अनुसार, अन्यमा अहिले मतगणना भइरहेको छ । पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ३ सय १८ क्षेत्रको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उता सुनसरी क्षेत्रनम्बर ३ मा रोकिएको मतगणना पुनः सुरु गर्ने सहमति भएको छ । अर्धकट्टीसहितको २७ वटा मतपत्र भेटिएपछि विवाद हुदाँ गणनाको काम रोकिएको थियो । मुख्य निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले गणना सुरु गर्ने सहमति भइसकेको जानकारी दिनुभएको छ । 


सुनसरी क्षेत्रनम्बर ३ मा उपप्रधानमन्त्रीसमेत रहनु भएका कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी विच प्रतिस्पर्धा भैरहेको छ ।