ओली र प्रचण्ड बीच सरकार गठन र पार्टी एकताबारे छलफल 

ओली र प्रचण्ड बीच सरकार गठन र पार्टी एकताबारे छलफल 

३६६ पटक पढिएको

पौष ११ काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुँदैछ । छलफल बाम एकता र राष्ट्रियसभा सदस्य निर्वाचनमा केन्द्रीत रहने स्रोतले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल राजधानी बाहिर भएपछि लामो समयदेखि रोकिएको एकता संयोजन समितिको बैठक बस्नुअघि दुई शीर्ष नेताबीच छुट्टै छलफल हुन लागेको हो । गृहजिल्ला चितवनमा रहेका अध्यक्ष दाहाल आज अपरान्ह ३ बजे काठमाडौं आउने कार्यक्रम रहेको छ । त्यसपछि एमाले अध्यक्ष ओलीसँग छुट्टै भेटवार्ता हुने दाहालका सहयोगी मनहरी तिमल्सिनाले जानकारी दिनुभयो ।  

सरकार गठन र पार्टी एकतासंगै गर्ने बताएपनि पछिल्लो समय दुवै पार्टीका नेताहरुबाट फरक फरक अभिव्यक्ति आउन थालेपछि दुई शीर्ष नेताहरुबीच मात्रै छलफल हुन लागेको हो । दाहाल राजधानी आउने बित्तिकै छलफल हुने भनिएपनि समय तय भइ नसकेको सहयोगी तिमल्सिनाले बताउनुभयो । दुई शीर्ष नेताहरुबीच पार्टी एकता र पछिल्लो समय विवादित बन्दै गएको राष्ट्रियसभा सदस्य निर्वाचनबारे साझा धारणा तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।