अध्यादेश रोकेर विवादमा नआउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजपाको सुझाव

अध्यादेश रोकेर विवादमा नआउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजपाको सुझाव

३९५ पटक पढिएको

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश रोकेर विवादमा नआउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाएका छन् । अध्यादेश सम्बन्धमा दलिय छलफल तीब्र पारेकी भण्डारीलाई भेट्न हिजो साँझ शीतल निवास पुगेका राजपा अध्यक्ष मण्डलका नेताहरुले संवैधानिक व्यवस्थाअनुसार अध्यादेश अगाडि बढाउन आग्रह गरेका हुन् । संवैधानिक अधिकार प्रयोग गर्दा राष्ट्रपति विवादमा पर्न नहुने भन्दै उनीहरुले संक्रमणकाल अन्त्यका लागि समेत अध्यादेश रोक्न नमिल्ने सुझाव दिएको भेटमा सहभागी अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो ।

अध्यादेश स्वीकृत नहुँदा बर्तमान सरकारको आयु समेत लम्बिने हुँदा तत्काल प्रमाणीकरण गरी निर्वाचन परिणामको सम्मान गर्न सुझाव दिएको यादवको भनाई छ । एकल संक्रमणीय व्यवस्थाको अभ्यास विगतमा समेत भएकाले सोही बिषयलाई लिएर अध्यादेश रोके राष्ट्रपति भण्डारीमाथि पार्टीगत काम गरेको आरोप लाग्ने उनीहरुको तर्क थियो ।  अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव सहभागी भेटमा राष्ट्रपति भण्डारीले मधेश केन्द्रित नेताहरु चुनावमा सहभागी भई विजयी बनेकोमा बधाई दिनुभएको थियो ।