राष्ट्रियसभा निर्वाचन तालिका आज सार्वजनिक गर्ने तयारी

राष्ट्रियसभा निर्वाचन तालिका आज सार्वजनिक गर्ने तयारी

५६३ पटक पढिएको

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनको गृहकार्यमा जुटेको आयोगले आज तालिका प्रकाशन गर्ने तयारी गरेको हो । माघ ७ देखि २४ गतेसम्म लागु हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागिएको आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रमसँगै आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिने मतदाताको समेत नामावली प्रकाशित गर्ने जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा कुल २ हजार ५६ मतदाता रहनेछन् । उनीहरुमध्ये गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयर गरी १ हजार ५ सय ६ तथा प्रदेश सभाका सांसद ५ सय ५० रहेका छन् । सरकारले प्रदेश प्रमुख नियुक्त नगरेकाले आयोगले प्रदेश सभाका समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न बाँकी छ । सरकारले प्रदेश प्रमुखको नियुक्ति गरे लगत्तै ती प्रमुख समक्ष नतिजा सिफारिस गर्ने आयोगले जनाएको छ ।