कम्युनिष्टहरुले राष्ट्रियता कमजोर पार्न खोजेको प्रधानमन्त्री देउवाको दावी

कम्युनिष्टहरुले राष्ट्रियता कमजोर पार्न खोजेको प्रधानमन्त्री देउवाको दावी

८८ पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका कम्युनिष्ट पार्टीहरुले मुलुकको राष्ट्रियता कमजोर पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । पोखरामा आज भएको कार्यक्रमलाई संबोधन गर्दै उहाँले तीव्र धुव्रिकरण गरेर मुलुकको राष्ट्रियता कमजोर बनाउने खेलमा कम्युनिष्टहरु लागेको आरोप लगाउनु भएको हो । 

तीव्र ध्रुवीकरणले राष्ट्रियता कमजोर पार्ने भन्दै उहाँले काँग्रेसले डरत्रास मुक्त समाज निर्माण गर्ने दाबी गर्नुभयो । साम्यवादसम्म पुग्ने कम्युनिष्टहरुको उद्देश्यले मुलुकमा अधिनायकवाद निम्त्याउने उहाँको जिकिर छ । मुलुकलाई अधिनायकवादबाट बचाउन पनि निर्वाचनमा कांग्रेसमा जिताउन उहाँले आग्रह गर्नुभयो । 

आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेसशभा निर्वाचनमा लोकतन्त्र र प्रजातन्त्रको लागि लडाईं हुने प्रधानमन्त्री देउवाले बताउनुभयो । स्थानीय तहमा ठूलो पार्टी बन्दैमा घमण्ड नगर्न उहाँले एमालेलाई चुनौती दिनुभयो । राणा शासन, पञ्चायती व्यवस्था कांग्रेसले फालेको बताउँदै उहाँले कम्युनिष्टहरुको अधिनायकवादलाई घुँडा टेकाउने चेतावनी दिनुभयो ।

कार्यक्रमलाई संवोधन गर्दै काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुको अधिनायकवादलाई पराजित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वाम गठबन्धनले संविधान संशोधन गरेर मौलिक हक कुण्ठित पार्ने उद्घोष गरेकोप्रति आपत्ति जनाउनुभयो । 

यसैबीचनेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले पोखरामा प्रधानमन्त्री  देउवालाई कालो झण्डा देखाएको छ । अनेरास्ववियुका कार्यकर्ताले शिक्षा ऐन खारेजीको माग गर्दै कालो झण्डा देखाएका हुन् । प्रहरीले अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमलाई पक्राउ समेत गरेको छ ।