भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै 

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै 

५४५ पटक पढिएको

भारतीय विदेशमन्त्री सुष्मा स्वराज २ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँने कार्यक्रम रहेको छ  ।  विशेष विमानमा उच्चस्तरीय टोलीसहित विदेशमन्त्री स्वराज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण दुई देशबीचको आपसी सम्बन्ध सुदृढ गर्ने बिषयमा केन्द्रित रहने मन्त्रालयले उल्लेख गरेको छ ।

भारतीय दूतावासले जारी विज्ञप्तिअनुसार पुराना दुई छिमेकी मुलुकबीचको सम्बन्ध र आपसी हितको विषयमा भ्रमण केन्द्रित हुनेछ । भ्रमण अचानक भए पनि भारतीय पक्ष पूर्ण तयारी र स्पष्ट एजेन्डासहित आउनेमा दुईमत नभएको भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । स्वराजले आजै एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मधेस केन्द्रित दुई दलका नेताहरूसँग संयुक्त र छुट्टाछुट्टै भेटघाट गर्नुहुनेछ । एमालेले आज आयोजना गर्ने रात्रीभोजमा पनि स्वराज सहभागी हुने कार्यक्रम छ । यस्तै, भोली राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ । भ्रमण टोलीमा नवनियुक्त विदेशसचिव विजयकेशव गोखले, नेपाल मामिलामा दख्खल राख्ने विदेश मन्त्रालयका प्रवक्ता रविश कुमार लगायत छन् । स्वराज भोली दिउँसो ४ बजे भारत फर्कने कार्यक्रम रहेको छ ।