समृद्धिको निम्ति बाम गठबन्धन आवश्यक- ओली

समृद्धिको निम्ति बाम गठबन्धन आवश्यक- ओली

१७१६ पटक पढिएको

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र विकासको निम्ति बाम गठबन्धन आवश्यक भएको बताएका छन् । नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ एवं बाम ध्रुवीकरण तथा एकता अभियानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले बाम गठबन्धनले मुलुकलाई स्थिर सरकार दिने बताए । उनले भने,‘स्थिर सरकार नबन्दासम्म मुलुकमा समृद्धि र विकास सम्भव छैन ।’ 


विगतमा काँग्रेसले बहुमतको सरकार बनाउँदापनि मुलुकलाई अग्रगति दिन नसकेको आरोप लगाउँदै ओलीले भने,‘२०४८ सालमा काँग्रेसले बुहमतको सरकार बताउँदा पनि स्थिरत सरकार दिन सकेन । २०५६ सालमा बहुमत ल्याउँदा काँग्रेसले दरवारमा बुझायो ।’


कामभन्दा कुरा बढी गर्ने काँग्रेसले कहिलेपनि मुलुकको हितमा कार्य गर्न नसक्ने ओलीले बताए । आफ्नो नेतृत्वको सरकारले भारतीय नाकाबन्दीका बेला भारत सामु नझुकेको बताउँदै ओलीले नेपाभित्रै ग्याँस, विजुली, रेगमार्ग, अन्तर्राष्ट्रिय व्यापार र पारवाहन सम्भाव्यताको कुरा गर्दा आफूलाई काँग्रेसले हावादारीको संज्ञा दिएको बताए । काँग्रेससँग न कुनै योजना छ, न त नीति नै छ भन्दै ओलीले भने, ‘काँग्रेससँग जनतासँग जाने कुनै नीति नभएका कारण हतास रुपमा बाम गठबन्धनलाई अधिनायकवाद भन्दै हिडेको छन् ।’ अबको निर्वाचनमा कम्युनिष्टहरुको स्पष्ट बहुमत ल्याउने धारणा राख्दै ओलीले कम्युनिष्टहरुले जनताको शिक्षा, स्वास्थ्य, विकास, समृद्धि अनि युवावर्गहरुका निम्ति रोजगारी सिर्जना गर्ने बताए ।  


कार्यक्रममा नेकपा एमालेका नेता एवं भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका बाम गठबन्धनका साझा उम्मेदवार महेश बस्नेतले अहिलेको निर्वाचनमा नेकपा एमालेको उम्मेदवार प्रगतिशील नेपाली काँग्रेसको निम्ति पनि साझा उम्मेदवार भएको बताए । भक्तपुरको समृद्धि र विकासको निम्ति अहिलेको प्रतिनिधिसभाको निम्ति आफू एकमात्र विकल्प भएको बस्नेत बताए । आफू उद्योगमन्त्री हुँदा मात्र भक्तपुर ७८ करोडको योजना ल्याउन सफल भएको बताउँदै बस्नेतले मनोहरा करिडोर, मेलम्चीको खानेपानीको निम्ति ट्याङ्की निर्माण, भक्तपुरमा ४८ वटा सडक निर्माण, हनुमन्ते खोलामा ५ वटा पुल निर्माण, मुहानपोखरीमा ३ अर्ब बराबरको ड्याम निर्माण लगायत भक्तपुरमा २ वटा स्याटेलाइट सिटी निर्माणमा समेत अग्रणी भूमिका खेलेको बताए । वर्तमान सरकारले मेलम्ची खानेपानी योजनालाई दोश्रो चरणमा सम्पन्न गर्ने नियोजित कार्यक्रम अगाडि ल्याउन लागेको बताउँदै उनले भने, ‘यदि काँग्रेस नेतृत्वको सरकारले यो निर्णय ग¥यो भने भक्तपुरका जनताले सिंहदवार घेर्नेछन् ।’


 

कार्यक्रममा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) मध्यपुरका बाम गठबन्धनका साझा उम्मेदवार राजेन्द्रमान श्रेष्ठले स्थानीय तहको निर्वाचनमा भक्तपुरमा उत्साहपूर्ण सफलता प्राप्त भएका कारण पनि अहिलेको प्रतिनिधिसभा र प्रदेशसभामा बाम गठबन्धनको विजय सुनिश्चि भएको बताए । मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले स्थानीय तहको निर्वाचनमा मध्यपुरका नागरिकले आफूलाई विजय गराएकामा धन्यवाद दिँदै प्रदेश र केन्द्रमा समेत समन्वय र पहुँच पु¥याउनको निम्ति पनि अबको निर्वाचनमा एमालेले जित्नुपर्ने धारणा राखे ।  


कार्यक्रममा नयाँ शक्ति पार्टीको केन्द्रीय समिति सदस्य तथा बाम ध्रुवीकरणका संयोजक भीम कडायत, केन्द्रीय सदस्य डा.भरत लामिछाने लगायतका ४ सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् । त्यस्तै, माओवादी कम्युनिष्ट केन्द्र नेपालका केन्द्रीय समिति संयोजक केशव दाहालसहित विभिन्न राजनीतिक दलहरुका ८७५ जनाले पनि आजै आफ्नो पार्टी पारित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।