प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु

१२४ पटक पढिएको

नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ‘प्रधानसेनापति पाँचौँ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७४’ आजदेखि शुरु भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डास्थित फुटबल मैदानमा एक समारोहकाबीच निर्णायक मण्डललाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो । 

प्रतियोगितामा मित्रराष्ट्र भारतको सिक्किम महिला फुटबल टिम र विहार महिला फुटबल टिम गरी दुई, घरेलु विभागीय महिला फुटबल टिम तीन र पाँच विकास क्षेत्रका महिला फुटबल टिम पाँच गरी जम्मा १० टिमको सहभागिता रहेको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ । 

जंगी अड्डा तथा लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकुद केन्द्रको मैदानमा आगामी मंसिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताअन्तर्गत आज नेपाली सेनाको त्रिभुवन आर्मी महिला फुटबल टिम र पश्चिमाञ्चल महिला फुटबल टिमबीच भएको उद्घाटन खेलमा आर्मी महिला टिमले पश्चिमाञ्चल टिमलाई १२–० गोल अन्तरले पराजित गरेको छ । 

सो उद्घाटन खेलमा त्रिभुवन आर्मी महिला फुटबल टिमकी कृष्णा खत्री उत्कृष्ट खेलाडी घोषित भइन् । उनले व्यक्तिगत ७ गोल गरेकी थिइन । साथै लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकुद केन्द्रको मैदानमा मध्यपश्चिमाञ्चल महिला फुटबल टिम र नेपाल प्रहरीको महिला फुटबलबीच आजै भएको खेलमा प्रहरीको टिमले मध्यपश्चिमाञ्चल टिमलाई १२–० गोल अन्तरले पराजित गरेको छ । 

उक्त खेलमा नेपाल प्रहरी महिला फुटबल टिमकी निर्मला विक उत्कृष्ट खेलाडी घोषित भइन् । उनले व्यक्तिगत ४ गोल गरेकी थिइन् । प्रतियोगितामा सबै खेल नक आउटका आधारमा खेलाइएको सेनाले जनाएको छ । 

उद्घाटन कार्यक्रममा रक्षा सचिव विनोद केसी, नेपाली सेना तथा प्रहरीका उच्च अधिकारी र अखिल नेपाल फुटबल संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।