मोदीलाई नागरिक अभिनन्दन

मोदीलाई नागरिक अभिनन्दन

२४५ पटक पढिएको

काठमाडौं ।  दुई दिने नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएका छन् । नयाँदिल्लीबाट बिहारको राजधानी पटना हुँदै जनकपुर ओर्लिएका मोदी जानकी मन्दिरको पुजापाठ र नागरिक अभिनन्दन सकेर काठमाडौं आएका हुन् ।
जनकपुर विमानस्थलमा मोदीलाई रक्षामन्त्री इश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए । लगत्तै भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा पुजा पाठ गरेका थिए । उनलाई स्वागत गर्न प्रधानमन्त्री  केपी शर्मा ओली जनकपुर पुग्नु भएको थियो । 


त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले रामायण सर्किटको संयुक्त सिलान्यास समेत गरेका थिए । दुवैले संयुक्त रुपमा जनकपुर–अयोध्या नेपाल भारत मैत्री बससेवा उद्घाटन गरेका थिए । जनकपुर उपमहानगरले भारतीय प्रधानमन्त्री मोदलिाई नागरिक अभिनन्दनबाट सम्मानित गरेको थियो । जनकपुरधामको रंगभूमिस्थित बाह्र बिघामा उपमहानगरका मेयर लालकिशोर शाहले मैथली भाषामा मोदीलाई अभिनन्दन गर्दै सांकेतिक रुपमा महानगरको साँचो हस्तान्तरण गरेका थिए । मोदीलाई जनकपुर उद्योग वाणिज्य संघले १ सय २१ केजीको माला लगाएर सम्मान समेत गरेको थियो । 
जनकपुरको कार्यक्रम सकेर काठमाडौं ओर्लिएका प्रधानमन्त्री मोदीलाई विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्नुभएको थियो । मोदीलाई  सरकारले काठमाडौंको टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरेको थियो । 
मोदीले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्द बहादुर पुनसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मोदीले बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने र अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले मोदीको सम्मानमा आज रात्रिभोजको आयोजना गरेका छन् ।