ईपीजी बैठकले सरकारलाई सुझाव पेश गर्दै

ईपीजी बैठकले सरकारलाई सुझाव पेश गर्दै

२५८ पटक पढिएको

नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को नवौँ बैठकले सरकारलाई सुझाव पेश गर्ने तयारी गरेको छ । बैठकले हालसम्म भएका प्रगतिलाई प्रतिवेदनको रुप दिई सरकारलाई बुझाउने तयारी गरेको हो । 


शनिबारको बैठकमा गठन कार्यादेशका आधारमा निष्कर्षमा पुगेर दुवै सरकारलाई सुझाव दिने नेपाली समूहका सदस्य डा.राजन भट्टराईले बताउनुभयो । दुवै देशबीचको हितका निम्ति बैठकमा महत्वपूर्ण छलफल भइरहेको डा. भट्टराईले क्यापिटल समाचारलाई जानकारी दिनुभयो ।

द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धिसम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्न दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति भएअनुसार समूह गठन भएको हो । 


बैठकमा नेपाली समूहका संयोजक डा.भेषबहादुर थापा, डा.राजन भट्टराई,पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय हुनुहुन्छ । त्यस्तै, भारतीय समूहका संयोजक एवं भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती सहभागी हुनुहुन्छ । यही असार २० मा इपिजीको समय सीमा सकिँदैछ ।