न्युयोर्कमा सत्य-स्वरूपको आकर्षक प्रस्तुति

न्युयोर्कमा सत्य-स्वरूपको आकर्षक प्रस्तुति

१५०० पटक पढिएको

न्युयोर्क, अगस्ट ७ ।  चर्चित युवा गायक सत्य-स्वरूप आचार्यले अमेरिकाको न्युयोर्कमा आफ्ना सांगीतिक प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध पारेका छन् ।

रोटरी क्लब अफ न्युयोर्क क्वीन्सले नेपालको समाजसेवी संस्था पवित्र समाजसेवा केन्द्रको सहयोगार्थ आयोजना गरेको कार्यक्रममा सत्य-स्वरूपले केही आफ्ना र केही पिता भक्तराज आचार्यका लोकप्रिय गीतहरू गाएका थिए ।

जहाँ छन् बुध्दका आँखा, मुटु जलिरहेछ, गोरीभन्दा मलाई त काली मन पर्‍यो, साँझ पर्‍यो अलि अलि बतास चल्यो, यी आँखामा तिमी छौ, धेरै माया दिंदा रहेछन् मुटु चुँडेर जानेहरू, हजार आँखा हेर्ने मेरी मायालुलाई, आँधीसरि तिम्रो माया, तिमीलाई भुल्नु परे बरू प्राणै जाओस्, बल गरेर त्यो मन यता जोड भन्दिन म, क्रिकेटले गर्दा चौडा भा छ छाती- जस्ता कर्णप्रिय गीतमा न्युयोर्कवासी नेपाली श्रोता राति अबेरसम्म झुमिरहेका थिए ।

सांगीतिक साँझमा नृत्यांगना संजिता कोइराला र गरिमा ज्ञवालीले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । क्लबका नवघोषित अध्यक्ष मोहन ज्ञवालीले नेपालका असहाय व्यक्तिहरूलाई सहयोग जुटाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको र यस्ता कृयाकलापलाई भविष्यमा जारी राख्ने जानकारी दिए ।

क्लबका अध्यक्ष डा. तारा निरौलाले कार्यकाल पूरा गरी मोहन ज्ञवालीलाई पद हस्तान्तरण कार्यक्रम पनि सांगीतिक कार्यक्रमकै बीचमा गरिएको थियो । युवा संचारकर्मी किरण मरहट्ठाले सत्यस्वरूपले भारतीय संगीतको दबदबालाई चिरेर नेपाली संगीततर्फ युवालाई आकर्षित गर्न ठूलो प्रयत्न गरेकाले सारा नेपालीको मनमा बस्न सफल भएको बताए ।

कार्यक्रमका संयोजक रोटरियन किशन सिंह धामीले सांगीतिक साँझबाट २ हजार ६ सय अमेरिकी डलर सहयोग संकलन भएको र यो रकम पवित्र समाज सेवा केन्द्रकी संचालिक दीक्षा चापागाईंलाई हस्तान्तरण गरिने जानकारी दिए।