सरकारको कामलाई लिएर व्यवस्थामाथि टिप्पणी गर्न मिल्दैन: नागरिक अभियन्ता प्रधान

सरकारको कामलाई लिएर व्यवस्थामाथि टिप्पणी गर्न मिल्दैन: नागरिक अभियन्ता प्रधान

२२२ पटक पढिएको

काठमाण्डौ । नागरिक अभियन्ता एवं मानवअधिकारकर्मी गौरी प्रधानले सरकारका काम कारबाहीलाई लिएर संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नकारात्मक टिप्पणी गर्ने बेला आइनसकेको बताउनुभएको छ । 

क्यापिटल एफ.एम.को विशेष कार्यक्रम ‘कमन इश्यू’ मा कुराकानी गर्दै प्रधानले लामो समयदेखिको अस्थिर राजनीतिक अवस्थाबाट स्थायीत्वतर्फ मुलुक अगाडि बढिरहेका बेला सबैले सकारात्मक टिप्पणी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विगतमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समेत असफल राष्ट्रको रुपमा व्याख्या गरिसकेको अवस्थामा बृहत शान्ति सम्झौताका उपलब्धी मार्फत एउटा बाटोबाट अगाडि बढिरहेको छ । यो आफैमा उल्लेखनीय पक्ष हो ।’ प्रधानले भन्नुभयो, ‘विगतमा भीरमा पुगिसकेको र मुलुक नै रहन्छ कि रहँदैन भन्ने अवस्थाबाट ऐतिहासिक संविधान सभाले निर्माण गरेको संविधान कार्यान्वयनको चरणमा रहेको छ । यसका सकारात्मक पक्षका बारेमा टिप्पणी हुनु जरुरी छ ।’

अहिले नेपालको संविधानका बारेमा तीन थरिका टिप्पणी हुने गरेका छन् प्रधानले भन्नुभयो, ‘एकथरिले पूर्ण रुपमा समर्थन, अर्काेथरिले पूर्ण रुपमा विरोध र अर्काे थरिले आलोचनात्मक समर्थन गरेको देखिन्छ ।’

संविधानमा व्यवस्था भएका प्रावधानका बारेमा टिप्पणी र आलोचना गर्ने अधिकार भएतापनि लोकतान्त्रिक विधिबाट आएको संविधानको कुनै विकल्प नभएको प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान सभाको ९० प्रतिशत भन्दा बढी जनप्रतिनिधिहरुको समर्थनमा तयार भएको संविधानलाई सबैले स्वीकार्नुको कुनै विकल्प छैन ।’

यो संविधान अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई आधार मानी बृहत शान्ति सम्झौताका आधारभूत पक्षहरुलाई आत्मसाथ गरी अगाडि बढेकाले तत्कालै यसको विरोध गर्नुको औचित्य नभएको प्रधानले बताउनुभयो । 

संविधानका प्रावधानहरुका बारेमा फरक मत र विचार राख्न पाउनु लोकतान्त्रिक व्यवस्थाको आधारभूत मान्यता भएको बताउँदै प्रधानले यसलाई अस्वीकार गर्छु भन्नु कुनै पनि हालतमा लोकतान्त्रिक पद्धति नभएको बताउनुभयो । 

सरकारका काम कारबाहीप्रति आलोचना गर्न पाउनु सबैको अधिकार भएको बताउँदै प्रधानले सरकारले पनि आफूले घोषणापत्रमा उल्लेख गरेका कुराहरुलाई इमान्दारितापूर्वका कार्यान्वयन गर्नुपर्ने दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले जनतालाई आश्वसन मात्र बाढ्ने होइन, नागरिकले अनुभूत गर्ने गरी काम गर्नु जरुरी छ ।’

सरकारको अहिलेको जिम्मेवारी विकास र समृद्धि मात्र नभएर संविधानको संस्थागत विकासमा ध्यान दिनु पनि भएको बताउँदै प्रधानले भन्नुभयो, ‘अहिलेको सरकारले बाटो घाटो निर्माण मात्र गरेर पुग्दैन, संविधानको गन्तव्यलाई पनि पूरा गर्नु जरुरी छ ।’
लोकतन्त्रमा प्रतिपक्षको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउँदै प्रधानले गुण र दोषको आधारमा प्रतिपक्षले सरकारको आलोचना वा समर्थन गर्ने प्रतिबद्धता जनाउनु आफैमा सकारात्मक भएको बताउनुभयो । 

सरकार गठन भएको ७ महिनामा नै सरकारका बारेमा गलत टिप्पणी गर्ने बेला नभएको बताउँदै प्रधानले सरकारको कमीकमजोरी देखाएर व्यवस्था नै विफल हुँदैछ भनी सन्देश कुनै पनि हालतमा प्रवाह गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारका काम कारबाहीका बारेमा धेरै टिका टिप्पणी गर्न सकिन्छ, तर यही बिषयलाई लिएर व्यवस्था नै असफल हुँदैछ भनी विश्लेषण गर्न मिल्दैन ।’ 

उहाँसँगको पूरा अन्तरवार्ता कार्यक्रम “कमन इश्यू” मा । शनिवार विहान ७ बजे र दिउँसो ३ः३० बजे काठमाण्डौ र आसपासका जिल्लामा क्यापिटल एफ।एम।९२।४ मेगाहर्ज, पूर्वमा रेडियो सारङ्गी १०१।३ मेगाहर्ज र पश्चिममा रेडियो सारङ्गी ९३।८ मेगाहर्जमार्फत सुन्नसक्नुहुनेछ । साथै, www.cfmonair.com र www.radiosarangi.com लग अन गर्न सक्नुहुनेछ ।