निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्कसँग मतदानमा सहभागी हुन आयोगको अपिल

निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्कसँग मतदानमा सहभागी हुन आयोगको अपिल

२९३ पटक पढिएको

निर्वाचन आयोगले भोली हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा आज राजधानीमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ४५ जिल्लामा भोली हुन लागेको निर्वाचनको तयारी पूरा भएको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त यादवले निर्वाचनमा पूर्णसुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न पनि मतदातालाई अपिल गर्नुभएको छ । निर्वाचन आयोगले भोली बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने सबैले मतदान गर्न पाउने जनाएको छ । यस्तै, अपांगता, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिइ मतदान गर्न पाउने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदाता परिचयपत्र लिन असमर्थ मतदाताले नागरिकता वा कुनैपनि मान्यताप्राप्त सरकारी परिचयपत्र लिएर मतदान गर्न पाउने व्यवस्था समेत गरेको छ ।

यस्तै ४५ जिल्लामा १ लाख ५५ हजार कर्मचारी खटाइएको प्रमुख आयुक्त यादवले बताउनुभयो । भोली १ सय २८ प्रतिनिधिसभा सदस्य र २ सय ५६ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा मतदान सम्पन्न भएको थियो । पहिलो चरणमा शान्तिपुर्ण निर्वाचन भएको थियो । सबै जिल्लाहरुमा मतपेटिका, मतपत्र र अन्य निर्वाचनका सामाग्री पुगिसकेको तथा मतदानपछि मतपत्र जिल्ला सदरमुकाम ल्याउने व्यवस्था समेत मिलाइसकिएको उहाँले बताउनुभयो ।