नेपाली जनतालाई बधाई - संयुक्त राष्ट्रसंघ

नेपाली जनतालाई बधाई - संयुक्त राष्ट्रसंघ

३३८ पटक पढिएको

प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन शान्त र सफलतापूर्वक सम्पन्न भएकोमा संयुक्त राष्ट्रसंघले नेपाली जनतालाई बधाई दिएको छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएको पर्सिपल्ट महासचिव एन्टोनीओ गुटेरसले शनिबार वक्तव्य जारी गर्दै सम्पन्न निर्वाचनप्रति खुसी व्यक्त गरेका हुन् । उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा सबै पक्षलाई बधाई दिँदै यो सद्भाव कायम राख्न आग्रहसमेत गरेका छन् ।

निर्वाचनमा जसरी दलहरूले एकअर्कामा शान्त, सक्रिय र सद्भाव देखाए, त्यही सद्भाव आगामी दिनमा हुने निर्वाचनमा समेत राख्ने आशा राष्ट्रसंघले गरेको पनि गुटेरसको वक्तव्यमा उल्लेख छ । २०७२ असोजमा जारी संविधानले तय गरेको नयाँ संघीय ढाँचालाई कार्यान्वयनमा लैजान यो निर्वाचन एक ऐतिहासिक पलको रूपमा रहनेसमेत महासचिवले उल्लेख गरेका छन् । यस्तै प्रतिनिधिसभा र प्रदेशसभाको दुवै चरणको निर्वाचन पर्यवेक्षण गरेकामा अन्तर्रा्ष्ट्रिय पर्यवेक्षकहरूले प्रशंसा गरेका छन् । उनीहरूले छोटो समयसीमा र कठिन अवस्थामा शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनुलाई मुलुकको उपलब्धिका रूपमा व्याख्या गरेका छन् । नेपालीले लोकतन्त्र र स्थायित्वप्रति देखाएको सद्भावको उनीहरूले प्रशंसा गरेका छन् ।