जनताले दिएको जनमतप्रति विनम्र बन्नुपर्छ : दाहाल

जनताले दिएको जनमतप्रति विनम्र बन्नुपर्छ : दाहाल

३०७ पटक पढिएको

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमार्फत् जनताले दिएको जनमतप्रति पार्टी र नेताहरु विनम्र हुनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल देशभक्त गणतान्त्रिक मञ्चले बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले भने, ‘जनताले हामीलाई निकै ठूलो जिम्मेवारीको भारी बोकाएका छन्, हाम्रो दायित्व देशमा स्थीरता र विकासको सपना साकार पार्नु हो, जनमतबाट हामी अझै जिम्मेवार बन्नुपर्छ, विनम्र बन्नुपर्छ। जनमतको सम्मान गरेर अघि बढ्नुपर्छ।’ उनले वामपन्थी गठबन्धनलाई जनताले अनुमोदन गरेको बताए ।

‘संविधान र कानुनको फरक ब्याख्या देखिएको छ, यसको जनमत पनि जनमतअनुसार नै हुन्छ, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको प्रावधानबाहेक अरु कुरा जनमतका आधारमा परिमार्जन गर्न सकिन्छ,’ दाहालले भने।

उनले पृथ्वीनारायण शाहपछि आफ्नो नेतृत्वमा नेपालमा ठूलो आन्दोलन भएको बताए।

‘एकै व्यक्तिलाई यति धेरै अवसर निकै कमलाई मात्र प्राप्त हुन्छ, मलाई त्यस्तो अवसर प्राप्त भयो, नेपाल राष्ट्र र नेपाली जनताप्रति म ऋणी छु,’ दाहालले भने, ‘पृथ्वीनारायण शाहपछि नेपालमा सबैभन्दा ठूलो आन्दोलन र बलिदान मेरै नेतृत्वमा भयो, त्यसले गणतन्त्र संघीयता र नयाँ संविधान दियो, मेरै नेतृत्वमा शान्ति सम्झौता भयो, युद्द र शान्ति दुबैको नेतृत्व गर्ने अवसर जनताले मलाई दिए। संविधान निर्माण र कार्यान्वयनमा पनि मैले नेतृत्वदायी भूमिका खेलें। अब नेपालको स्थीरता, विकास र समृद्धिको नेतृत्व पनि मेरै काँधमा आएको छ। त्यो जिम्मेवारी पनि म पूरा गर्छु।’