ओली र दाहाल बीच छलफलको तयारी

ओली र दाहाल बीच छलफलको तयारी

१८६ पटक पढिएको

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफलको तयारी भएको दुवै जनाको निजी सचिवालयले जनाएको छ । तर समय भने तय भैसकेको छैन । भेटमा गतिरोध अन्त्य र सरकार निर्माण प्रक्रियालाई तीव्रता दिने विषयमा छलफल हुने बताइएको छ । यसअघि पाँच दिनको चितवन बसाईपछि हिजो काठमाडौं फर्किनु भएको माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग हिजै भेट्ने भनिए पनि छलफल हुन सकेको थिएन ।

चुनाव लगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् । विभिन्न कार्यक्रममा ओली र प्रचण्डले पार्टी एकता छिट्टै हुने भनेपनि लामो समयसम्म दुवै दलबीच औपचारिक संवाद नहुँदा असहमति बढेको आशंका विभिन्न पक्षबाट भएको छ ।

एमाले र माओवादीले असोज तेस्रो हप्ता दुवै पार्टी एकीकरण गर्ने घोषणा गर्दै त्यसको प्रारम्भ चुनावी तालमेलबाट सुरु हुने बताएका थिए । दुई चरणमा भएको प्रतिनिधि तथा प्रदेशसभाका चुनावमा दुवै दलले ४० र ६० को अनुपातमा तालमेल गरेका थिए । मंसिर १० र २१ गते भएको चुनावमा प्रत्यक्षतर्फ वामपन्थी गठबन्धनले झण्डै  दुईतिहाइ बहुमत ल्याएको छ भने सात प्रदेशमध्ये ६ प्रदेशमा सरकार बनाउने अवस्थामा छ ।