सौराहामा हुने भयो अन्तर्राष्ट्रिय भैंसी सम्मेलन

सौराहामा हुने भयो अन्तर्राष्ट्रिय भैंसी सम्मेलन

१७० पटक पढिएको

विभिन्न देशका कृषि वैज्ञानिकहरुको सहभागितामा सौराहामा कात्तिक २९ गतेदेखि भैंसीबारे अन्तर्राष्ट्रिय संगोष्ठी हुने भएको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको मुख्य आयोजना तथा नेपाल सरकार, पशुपंछी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाको सहआयोजनामा सम्मेलन हुन लागेको हो।

‘खाद्य एवं आर्थिक वृद्धिका लागि भैंसी उत्पादनमा वृद्धि’ भन्ने नारा राखिएको कार्यक्रममा नेपालसहित ११ देशका वैज्ञानिक सहभागी हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, फिलिपिन्स, इटाली, अमेरिका, बेलायत र क्यानडाका वैज्ञानिक सहभागी हुनेछन्।

वैज्ञानिकहरुले भैंसीको प्रजनन प्रविधि, यसको स्वास्थ्य, पोषण एवं व्यवस्थापन विधि, अनुवांशिक प्रविधि जस्ता विषयमा करिब ९० वटा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

आयोजक समितिका सदस्यसचिव डा भूमिनन्द देवकोटाका अनुसार सम्मेलनमा इन्टरनेशनल ‘बफेलो’ फेडेरेसनका महासचिव एन्तोनी बोरगिज, एसियन बफेलो एसोसिएसनका अध्यक्ष इन्दरजित सिंह, विभिन्न विश्वविद्यालयका अध्यक्ष एवं विशिष्ट वैज्ञानिकको सहभागिता रहनेछ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस किसिमको वैज्ञानिक सम्मेलनले भैंसी उत्पादनका क्षेत्रमा अपनाइआएका प्रविधि र पछिल्लो खोजबारे जानकारी सम्प्रेषण गर्नमा सघाउने देवकोटाले बताए।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस किसिमको वैज्ञानिक सम्मेलनले भैंसी उत्पादनका क्षेत्रमा अपनाइआएका प्रविधि र पछिल्लो खोजबारे जानकारी सम्प्रेषण गर्नमा सघाउने देवकोटाले बताए।

विश्वका ४२ देशमा भैंसीपालन हुँदै आएको छ । विश्वभरमा १८ करोड ५० लाख भैंसी पालिएको अनुमान गरिन्छ । यसमा सबैभन्दा बढी भारतमा १० करोड ५० लाख, पाकिस्तानमा तीन करोड र नेपालमा ५२ लाख भैंसीपालन हुँदै आएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले जानकारी दिए।