डा. गोविन्द केसी विरुद्ध दायर अदालत अवहेलना मुद्दामा सर्वोच्चमा बहस जारी, रिहाईको माग गर्दै समर्थकद्धारा  माइतीघरमा प्रदर्शन

डा. गोविन्द केसी विरुद्ध दायर अदालत अवहेलना मुद्दामा सर्वोच्चमा बहस जारी, रिहाईको माग गर्दै समर्थकद्धारा  माइतीघरमा प्रदर्शन

१९६ पटक पढिएको

डा. गोविन्द केसी विरुद्ध दायर अदालत अवहेलना मुद्दामा बहस भइरहेको छ । प्रा. डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको बताउनु भएको छ ।  डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ । सुनुवाईका क्रममा डा. केसीले पनि इजलासमा उपस्थित भएर आफ्नो धारणा राख्नुभएको हो । आफू कसैको रैती नभई सार्वभौम देशको सचेतक नागरिक भएको र संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेको बताउनुभयो । उनले आफूले नभई प्रधानन्यायाधीश पराजुलीले नै अदालतको अवहेलना गरेको दोर्होयाउनु भएको छ ।  अहिले केसी पक्षीय वकिलहरुले बहस गर्दैछन् । दुबैतर्फको बहस सुनिसकेपछि आजै निर्णय सुनाउने सर्वोच्चको तयारी रहेको छ ।

सर्वोच्च अदालतमा प्रा. डा. गोविन्द केसीमाथि लगाइएको मुद्दामा बहस चलिरहेका बेला काठमाडौंको माइतीघरमन्डलामा उहाँका समर्थकहरु भेला भएर प्रदर्शन गरेका छन् । ‘डा. केसीलाई बिनाशर्त रिहा गर’, ‘डा. केसीविरुद्ध लगाइएको मुद्दा खारेज गर’, ‘भ्रष्टाचार र माफियातन्त्र अन्त्य गर’, ‘न्यायपालिकाको पुनःसंरचना गर’ जस्ता नारा लगाउँदै उनीहरु सडकमा उत्रिएका हुन् । प्रदर्शनमा नयाँ शक्ति पार्टी नेपालका नेता–कार्यकर्ताको पनि सहभागिता रहेको थियो ।